आस्थाको सङ्गम: पलाँसे कुलायन मन्दिर र हाम्रो सांस्कृतिक धरोहर
आस्थाको सङ्गम: पलाँसे कुलायन मन्दिर र हाम्रो सांस्कृतिक धरोहर
भक्तपुरको पलाँसेस्थित कुलायन मन्दिर लामाकार्की वंशजहरूको आस्था, एकता र सांस्कृतिक स्वाभिमानको साझा प्रतीक हो । वि.सं. २०७३ मा जग हालिएको यस पवित्र धामको स्थापना, पूर्वाधार विकास, गुरुयोजना र साङ्गठनिक विस्तारको ऐतिहासिक वृत्तान्त प्रस्तुत छ ।
क. कुलायन मन्दिर निर्माणका प्रारम्भिक कदम
सूर्यमान सिंह कार्की प्रतिष्ठानको गठनपछि यसले लामाकार्की वंशजहरूको हक-हित, पहिचान र परम्परा संरक्षणमा अग्रगामी एवं नेतृत्वदायी भूमिका खेल्दै आएको छ । आफ्ना पूर्वजहरूप्रतिको अगाध श्रद्धा, कुल परम्पराको जगेर्ना र वंशजहरूबीचको आत्मीय एकतालाई अझ सुदृढ बनाउने पवित्र उद्देश्यका साथ भक्तपुरको पलाँसेस्थित कुलायन मन्दिर निर्माणको यात्रा सुरु भएको थियो ।
जग्गा खरिददेखि मन्दिर निर्माणसम्मका सम्पूर्ण कार्यमा श्री सूर्यमान सिंह कार्कीका सन्ततिहरूका साथै पैँयापाने लामाकार्की परिवारका सदस्य दाजुभाइ तथा दिदीबहिनीहरूले एकजुट भई सामूहिक, स्वतःस्फूर्त र उदार आर्थिक सहयोग पुर्याउनुभयो । उहाँहरूकै संयुक्त योगदान र भक्तिभावका आधारमा वि.सं. २०७३ साल चैत महिनामा मन्दिरको जग हालियो र पहिलो चरणको निर्माण कार्य सफलतापूर्वक सम्पन्न भयो । तत्पश्चात् पहिलो ऐतिहासिक कुल पूजा सम्पन्न भएसँगै यस स्थानलाई लामाकार्की वंशजहरूको पवित्र धार्मिक स्थलका रूपमा विकास गर्ने पाइलाहरू अघि बढेका हुन् ।
विगतको सानो कुलायन घरबाट सुरु भएको यो यात्रा आज भव्य कुलायन मन्दिरका रूपमा रूपान्तरण भई निरन्तर अघि बढिरहेको छ । कालान्तरमा पलाँसेस्थित यो मन्दिर परिसर सम्पूर्ण लामाकार्की बन्धुहरूका लागि एक विशाल पारिवारिक देवस्थल (धार्मिक धाम) बन्नेछ भन्ने कुरामा कुनै दुईमत छैन । प्रतिष्ठानको वि.सं. २०८३ असार २३ गतेको ऐतिहासिक निर्णयले पनि यही विश्वास, दूरदर्शिता र सङ्कल्पलाई पूर्ण रूपमा पुष्टि गर्दछ ।
ख. परिकल्पनादेखि मन्दिर स्थापनासम्म
मन्दिर निर्माणको प्रारम्भिक परिकल्पनालाई साकार पार्न प्रतिष्ठानको नेतृत्वदायी अग्रसरता र सम्पूर्ण बन्धुवर्गको समर्पण मुख्य आधार बनेको थियो । वि.सं. २०७३ साल चैतमा हालिएको जगमा सम्पूर्ण बन्धुहरूको अथक परिश्रम, लगनशीलता र भक्तिभाव मिसिएपछि वि.सं. २०७४ वैशाखमै मन्दिर निर्माण कार्य भव्यताका साथ सम्पन्न भयो । सोही वर्षको पावन असार शुक्ल पूर्णिमा (व्यास पूर्णिमा) का दिन पहिलो ऐतिहासिक कुल पूजा सम्पन्न गर्दै यस स्थललाई सम्पूर्ण लामाकार्की वंशजहरूको साझा आस्था र सामीप्यको पवित्र धामका रूपमा स्थापित गरियो ।
ग. भौतिक पूर्वाधार र योगदानको स्वर्णिम अध्याय
मन्दिर स्थापनासँगै यसको चौतर्फी सुरक्षा, भौतिक व्यवस्थापन र पूर्वाधार विस्तारको आवश्यकता महसुस भयो । यसै क्रममा सुरवीर कार्कीका जनाति तथा बन्धु श्री दिलबहादुर कार्की (सञ्चालक: कार्की ब्याङ्क्वेट, थापाथली) ले देखाउनुभएको निःस्वार्थ र अतुलनीय योगदान सम्पूर्ण वंशजहरूका लागि अनुकरणीय बनेको छ ।
मन्दिर परिसरलाई सुरक्षित र व्यवस्थित बनाउन उहाँले वि.सं. २०७६ मा आफ्नै व्यक्तिगत खर्चमा मजबुत ढुङ्गे पर्खाल र फलामको घेराबार जडान गराउनुभयो । त्यसै गरी, मन्दिरको गरिमा बढाउन र टाढा–टाढाबाट आउने बन्धुहरूलाई सहज आवास सुविधा पुर्याउने उद्देश्यले आ.व. २०७९/८० मा उहाँकै पूर्ण आर्थिक सौजन्यमा आधुनिक शौचालयसहितको आकर्षक ३ कोठे आवास गृह भवन निर्माण भयो । उहाँको यस निष्काम सेवा र उदारताप्रति प्रतिष्ठान हृदयदेखि नै हार्दिक आभार प्रकट गर्दछ ।
घ. गुरुयोजना, अत्याधुनिक संरचना र आगामी स्वरूप
पलाँसेस्थित यस धार्मिक स्थललाई कानुनी रूपमा सुदृढ, वैज्ञानिक र अत्याधुनिक बनाउन प्रतिष्ठानले एक दूरदर्शी भौतिक गुरुयोजना अघि बढाएको छ । निर्मित ३ कोठे भवनलाई सूर्यविनायक नगरपालिकाबाट कानुनी रूपमा नक्सा पास गराउने कार्य अघि बढाइएको छ । भावी पुस्ताको आवश्यकता र सुरक्षालाई दृष्टिगत गर्दै संरचनात्मक जगलाई थप मजबुत बनाउन ’एकीकृत संकुचनरहित संरचनात्मक बन्डिङ’ (Monolithic Structural Bonding) प्रविधि अपनाइनेछ ।
भुइँतल्लाका कोठाहरूलाई यथावत् राख्दै पहिलो तल्लामा कुल पूजा र सामाजिक–सांस्कृतिक समारोहहरू सञ्चालन गर्न एक विशाल ’खुला हल’ निर्माण गरिनेछ । यस हलभन्दा माथि भविष्यमा थप दुई–तीन तल्लासम्म सुरक्षित रूपमा भार वहन गर्न सक्ने गरी नक्सा स्वीकृत गराइनेछ, जहाँ अतिथिहरूको बसाइका लागि सुविधायुक्त कोठाहरू रहनेछन् । माथिल्ला तल्लाका कोठाहरू निर्माणमा योगदान पुर्याउन चाहने इच्छुक दाताहरूका लागि ’डोनर मोडेल’ अनुसार प्रस्ताव आह्वान गरी ती कोठाहरूको नामाकरण दाताकै इच्छा अनुसार गरिनेछ ।
धार्मिक अनुष्ठान, विवाह, व्रतबन्ध र पुराण जस्ता सामाजिक उत्सवहरू सहज रूपमा सम्पन्न गर्न परिसरमा प्रशस्त खुला ठाउँ खाली राखिनुका साथै सोही स्थानमा गणेश, देवी र शिवको दिव्य विग्रह समेत स्थापना गरिनेछ । सम्पूर्ण निर्माण कार्यलाई वैज्ञानिक, सुरक्षित र वास्तु अनुकूल बनाउन स्ट्रक्चरल इन्जिनियर र वास्तुविद्को प्रत्यक्ष परामर्शमा गुरुयोजना तयार गरी नगरपालिकाबाट पारित गराइनेछ ।
ङ. तीन तहको छत्रशैलीमा पुनरुत्थान र अख्तियारी प्रदान
विगतमा एक कोठामा मात्र सीमित रहेको कुल पूजा स्थललाई अब एक भव्य, कलात्मक र आकर्षक धाममा रूपान्तरण गर्न लाग्ने सम्पूर्ण खर्चको व्यवस्थापन स्वयं श्री दिलबहादुर कार्कीले गर्ने गरी मन्दिरलाई तीन तहको परम्परागत छत्रशैली (Three–Tier Pagoda Style) मा रूपान्तरण गर्ने प्रस्ताव राख्नुभएको थियो । उहाँको उक्त प्रस्तावलाई सहर्ष स्वीकार्दै वि.सं. २०८३ असार २३ गते बसेको प्रतिष्ठानको कार्यसमितिको बैठकले उक्त प्रस्तावलाई सर्वसम्मतिले अनुमोदन गरेको थियो ।
यसै गरी, वि.सं. २०८३ साउन १३ गते कुलायन पूजाका दिन प्रतिष्ठानका तर्फबाट नयाँ इन्जिनियरिङ नक्साङ्कन, कम्पाउन्ड, भवन निर्माण तथा सम्पूर्ण पुनर्निर्माण कार्यको नेतृत्व, रेखदेख र व्यवस्थापन गर्ने पूर्ण जिम्मेवारी र क्षेत्राधिकार (कार्याधिकार) सुम्पिँदै श्री दिलबहादुर कार्कीलाई औपचारिक रूपमा अख्तियारी पत्रसमेत प्रदान गरियो । यसबाट मन्दिर निर्माण कार्यलाई सहज र द्रुत गतिमा अघि बढाउने बाटो खुला भएको छ । बन्धु श्री दिलबहादुर कार्कीले आफ्नै निजी लगानीमा संरचना निर्माण तथा परिसरको सौन्दर्यीकरण गर्नुभएको यो महान् कार्य लामाकार्की वंशको इतिहासमा एउटा स्वर्णिम कोसेढुङ्गा बन्नेछ भन्ने प्रतिष्ठानको ठम्याइ छ । कार्यसमितिले यी सम्पूर्ण भौतिक विकास, नक्सा पास तथा आवश्यक समन्वयका लागि प्रतिष्ठानका अध्यक्ष श्री प्रल्हादबहादुर कार्कीलाई अख्तियारी प्रदान गरेको छ ।
च. साङ्गठनिक विस्तार र ‘आजीवन सदस्यता’ महाअभियान
कुनै पनि वंश र समुदायको मुख्य आधार भनेकै त्यसको इतिहास, कुल परम्परा र पूर्वजहरूले छोडेर गएको सांस्कृतिक विरासत हो । पूर्वाधार विकासको भौतिक प्रगतिसँगै आफ्नो साङ्गठनिक दायरालाई विश्वभर फैलाउने दीर्घकालीन नीति प्रतिष्ठानले लिएको छ । यसै नीति अनुसार वि.सं. २०८३ असार २३ गतेको बैठकले साङ्गठनिक विस्तारको महाअभियान आरम्भ गर्दै भोजपुर पैँयापानीका श्री सूर्यमान सिंह कार्की तथा मालबाँसेका श्री सिंहवीर कार्कीका स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण वंशजहरूलाई एउटै साझा चौतारीमा जोड्ने पवित्र लक्ष्य राखेको छ ।
आजको आधुनिक युगमा हाम्रा सन्ततिहरू उच्च शिक्षा, रोजगारी वा व्यवसायका सिलसिलामा अमेरिका, क्यानडा, अष्ट्रेलिया, बेलायत, युरोप, कोरिया, जापान लगायत विश्वका विभिन्न मुलुकमा पुगेका छन् । जन्मभूमि र मूल घरबाट टाढा रहँदा नयाँ पुस्ता आफ्ना कुल परम्परा, धर्म, संस्कृति र संस्कारबाट ओझेल पर्न सक्ने यथार्थलाई मध्यनजर गर्दै प्रतिष्ठानले वि.सं. २०८३ को कुलायन पूजादेखि एक नयाँ र पवित्र परम्पराको थालनी गरेको छ ।
यस व्यवस्था अनुसार अब विदेशमा बसोबास गर्ने लामाकार्की बन्धुहरूले पूजा, बड वा भाकलका लागि रकम पठाएर कुलपूजा गराउन सक्नुहुनेछ । प्रतिष्ठान तथा कुलायन पूजा व्यवस्थापन समितिले पूर्ण जिम्मेवारीका साथ मन्दिर परिसरमै सम्बन्धित बन्धुहरूको नाममा विधिपूर्वक पूजा–अर्चना र सङ्कल्प सम्पन्न गराइदिनेछ । यस कदमले सात समुद्रपारि रहेका बन्धुहरूलाई पनि कुलदेवताको सामीप्य र आशीर्वाद महसुस गराउँदै मूल घर र माटोसँगको भावनात्मक नातालाई सदैव जीवन्त राख्न मद्दत पुर्याएको छ ।
यसै महाअभियानलाई थप सशक्त र दीर्घकालीन बनाउन वि.सं. २०८३ साउन ५ गते बसेको बैठकले अर्को महत्त्वपूर्ण घोषणा गरेको छ । देश तथा विदेशमा रहनुभएका सम्पूर्ण लामाकार्की बन्धुहरूलाई प्रतिष्ठानको साझा छत्रछायामा आबद्ध गराउन रु. ११,०००/– योगदानसहित ‘आजीवन सदस्यता’ को ढोका खुला गरिएको छ । यसबाट कुल पितृ कार्यमा सदैव जोडिने अवसर प्राप्त हुने विश्वास लिइएको छ । आजीवन सदस्य बन्नुहुने प्रत्येक बन्धुलाई प्रतिष्ठानका तर्फबाट मायाको चिनो स्वरूप विशेष कदर–पत्रद्वारा सम्मान गरिनेछ ।
छ. साझा प्रतिबद्धता र ऐतिहासिक आह्वान
हाम्रो पहिचान, स्वाभिमान र पूर्वजको अमूल्य विरासत जोगाउने यो अभियान केवल एउटा संस्थाको औपचारिक कार्य मात्र होइन; यो त हाम्रा सन्ततिहरूका लागि संस्कार र संस्कृतिको सुरक्षित भविष्य निर्माण गर्ने साझा चौतारी हो । त्यसैले संसारको जुनसुकै कुनामा रहे पनि आफ्ना पुर्खाको इतिहास जोगाउन, कुलदेवताको कृपा प्राप्त गर्न र आगामी पुस्तालाई समृद्ध संस्कृति हस्तान्तरण गर्न प्रतिष्ठानको आजीवन सदस्य बनी यो ऐतिहासिक यात्रामा हातेमालो गर्नु हामी सबै बन्धुहरूको परम कर्तव्य हो ।
आलेख / प्रस्तुति: चण्डी कार्की
मिति: २०८३ भाद्र ९ गते शुक्रबार
